मुकेश चौलागाई ।
मुगु । मुगुको खत्याड गाउँपालिका घर भएका कल्से नेपालीको दुई बर्षको उमेरमा दुवै आँखाको ज्योती गुम्यो । सानैमा देखेको संसार सधैका लागि अध्यारो भएपछि मुगुका कल्से नेपाली दिन दिनरात रुनुभयो । तर आमा बाहेक उहाँको रोएको देख्ने र सुन्ने अरु कोही थिएन । तर आँखाले साथ छाडेपनि गलाले हिम्मत दिएपछि कल्से गीत गाउन लाग्नु भयो । १२ बर्षको उमेरदेखि गीत गाउन थाल्दा उहाँलाई गाँउघर र छिमेककाले चिन्न थाले । बेला बेला घरमा आउनेले पनि उहाँलाई फेरि फेरि गीत गाउन लगाई सुन्न थाले । मन परेको गीत गाउन लगाएर गीत सुनेपछि गाउँघरकाले अलिकति पैसा दिन्थे ।

त्यही अलिकति हुदै आउने पैसा जम्मा गरेर कल्सेले आफ्नो साँझ बिहानको छाक टार्दै आमाको पनि सहारा बन्नु भएको छ । विशेषगरी देउडा गीत गाउने कल्सेको गायनको चर्चा गाउँघर हुदै जिल्ला सदरमुकामसम्म पुग्यो । बेला बेला हुने मेला महोत्सवमा उहाँको बोलावट हुन थाल्यो । आँखा नदेख्ने तर सुरिलो स्वरबाट गीत सुन्नका लागि अहिले मुगु र आसपासका जिल्लामा उहाँको खोजी हुने गरेको छ ।

कतिपय त सदरमुकाम गमगढीबाट झण्डै दुई दिन पैदल हिडेर श्रीकोट गाउँमा पुगेर पनि पनि उहाँलाई कार्यक्रममा लैजाने गरेका छन । त्यति मात्रै नभई मुगुका सरकारी कार्यालयले आफ्ना जनचेतनामुलक सन्देशमा उहाँले गाएका गीत समेटेर नागरिकलाई जनचेतना फैलाउने गरेका छन । नागरिकलाई चेतना मात्रै नभई आफुले भोगेको पीडा र विकट गाउँका समस्याका बारेमा गीत गाएर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री रामबहादुर थापालाई सुनाएको उहाँ स्मरण गर्नुहुन्छ ।

गीत गाएरै जीवन धानेका कल्सेले पाँच दशक अर्थात ५२ बर्ष पार गरिसक्नु भएको छ । जीवनको कठिन समय गीत गाएरै कटाएका कल्सेको अब एउटै उद्धेश्य छ, आफ्नै स्वरमा गीत रेकर्ड गराउने । तर यसका लागि अहिलेसम्म न मौका जुरेको छ, न त काठमाडौ गएर गीत रेकर्ड गराउने पैसा नै । तर पनि सास रहेसम्म आश रहन्छ भनेझै एक न एक दिन आफ्नै स्वरमा गीत रेकर्ड गराएर एल्बम निकाली छाड्ने उहाँको ठूलो धोको छ ।

उनिसगँ गरिएको कुराकानी र गित तलका भिडियोमा हेर्नुहोस् ।