जुम्ला । तातोपानी गाउँपालिका–१ राँका गाउँका दुई सय घरधुरीको दैनिकी तरापिपाटन क्षेत्रसँग जोडिएको छ । राँका गाउँका अधिकांश स्थानीयको खेतीयोग्य जमिन पनि तरापिपाटन क्षेत्रमै छ । राँका गाउँबासीको मुख्य पेसा भनेकै कुषि तथा पशुपालन हो । गाउँदेखि त्यहाँसम्मको पैदल दूरी तीनदेखि पाँच घण्टासम्मको छ ।

झरी र हुरीबतासमा गाउँदेखि पाटन क्षेत्र आउजाउ गर्न निकै जोखिम बढेपछि अधिकांशले बर्खामा घरसमेत बनाएका छन् । उनीहरूले बाली उत्पादन, संकलनदेखि घर भिœयाउँदासम्म दुईचार महिना तरापिमा बनाएको घरमै बस्ने गरेका छन् । निकै ठूलो बोझ बोकेर घरदेखि तरापि आउजाउ गर्न बाध्य राँकाबासीलाई भने अहिले त्यो बाध्यता हटेको छ । गाउँदेखि तरापि जोड्ने ग्राभिटी गुट्स रोपवे निर्माणपछि स्थानीयले बोक्ने सबै प्रकारका बोझ रोपवेबाटै ओसारपोसार हुन थालेको छ । यही असार महिनाबाट जिल्लामै पहिलो पटक सञ्चालनमा आएको रोपवेबाटै अहिले सबै सामान ओसारपोसार गर्न थालेपछि उनीहरू छक्क परेका छन् । यसअघि भारी बोकेर चार घण्टाको पैदल हिँडेका स्थानीयको बोझ अहिले रोपवेले पाँच मिनेटमै पाटनदेखि घरसम्म ल्याइदिएको छ ।

रोपवेबाट सामान आयात तथा निर्यात गर्दा प्रतिकेजी एक रुपैयाँ लिने गरेको अपरेटर टक्क बुढाले बताए । उनका अनुसार रोपवे सञ्चालनबाट संकलन भएको रकममध्ये ४० प्रतिशत अपरेटर खर्च र बाँकी मर्मतसम्भार कोषमा जम्मा गर्ने गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र तातोपानी गाउँपालिकाको समन्वय, युरोपेली संघ, जर्सी ओभरसिज एडको आर्थिक सहयोग तथा प्राटिकल एक्सनद्वारा सञ्चालित विकास परियोजनाअन्तर्गत जिल्लामै पहिलो पटक १४ सय ८० मिटर लामो रोपवे निर्माण भएको हो । रोपवे निर्माणमा ४२ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।

‘रोपवे कहिल्यै देखेके थिइनँ, सामान ओसार्न निकै सहज हुँदो रै’छ’, राँका गाउँकी गोरी सार्कीले भनिन्, ‘यो मैले कल्पना नगरेको विषय हो, वर्षौंदेखि सरकार तरापि जोड्ने सडक काट्दै थियो, तर ६ महिनामै रोपवे बनेर सामान ढुवानी गर्न पाँउदा अचम्म लागेको छ ।’ उनीजस्तै घरबाट खानेकुरा तथा लत्ताकपडालगायत सामाग्री पाटन र पाटनबाट कृषि उपज घर ओसार्दै गरेका नवराज रावल पनि निकै खुसी छन् । उनले भने, ‘अब बोझ बोकर घरबाट तरापिपाटन हिँड्नुपर्ने बाध्यता हट्यो, सामन बोकेर हिँड्दा थकाइ मात्र होइन जंगलमा डरत्रास हुन्थ्यो अब त्यस्तो रहेन ।’

रोपवे निर्माणमा ४२ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।

तरापिपाटन क्षेत्र स्याउ र सिमी उत्पादनका हिसाबले पकेट क्षेत्र पनि मानिन्छ । कर्णाली राजमार्गबाट एकतर्फी तीन घण्टा पैदल हिँड्नुपर्ने सो क्षेत्रमा जोखिमपुर्ण गोरेटो बाटो भएकाले ढुवानीमा सास्ती भोगेका कृषकलाई कृषि उपजको ढुवानीमा सहज भएको छ । रोपवेको दिगो सञ्चालनका लागि गाउँपालिका कृषि शाखा, स्याउ सुपरजोन तथा कृषि क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाले तरापिपाटन क्षेत्रमा कृषि उपज बढाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । तरापिजस्तै उत्पादन राम्रो तर ढुवानीको समस्या भएका जिल्लाका अन्य क्षेत्रमा पनि यस्तै रोपवे प्रविधि प्रयोग गर्न सकिने देखिन्छ ।
साभारः अन्नपुर्ण