दैलेख । तीन दिनदेखि बिजुली आपूर्ति बन्द हुँदा दैलेखका सरकारी तथा गैरसकारी कार्यालयका सेवा प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुली कसरी अवरोध भयो भन्नबारे अहिलेसम्म पत्ता लगाउन सकेको छैन । ‘बनाउन टोली गएको छ तर कहाँ के विग्रेको भन्ने पत्ता लागेको छैन’ बिद्युत प्राधिकरण दैलेखका कार्यालय प्रमुख धीरेन्द्र बजगाईले बताउनुभयो ।

बिजुली नभएकै कारण सञ्चारमा समेत अवरोध पुगेको छ । नेपाल टेलिकमको टेलिफोन सेवा पनि प्रभावित छ । ब्याकअप व्यवस्था नभएको कारण पटक–पटक टेलिकमका सबै सेवा बन्द भएको छ । बिजुली नभएकै कारण कम्प्यूटर नचलेको भन्दै सरकारी सेवा समेत प्रभावित छ । कक्षा ११ को परीक्षा चलिरहेको बेला लगातार बिजुली नहुँदा विद्यार्थीहरुको पठनपाठनमासमेत अवरोध पुगेको छ ।

बिजुली आपूर्ति नभएकै कारण दैलेखका ३ वटा रेडियो प्रसारण र आधा दर्जन पत्रिकाको प्रकाशनसमेत बन्द भएका छन् ।