सुर्खेत । लिलाम गर्नुपर्ने पुराना गाडी संघीय सरकारले कर्णाली प्रदेशमा पठाएपछि मन्त्रीहरूले सास्ती खेप्नुपरेको छ । थोत्रा गाडी कार्यक्रममा जाँदा बाटोमै बिग्रिने गरेका छन् भने मन्त्रीहरूले लिफ्ट माग्नुपरेको छ ।

प्रायः धेरै गाडी मर्मत गर्दासमेत सञ्चालनमा ल्याउन नसकिएको कर्णालीका मन्त्रीहरूले गुनासो गरेका छन् । संघीय सरकारले कर्णाली प्रदेशका लागि १२ गाडी पठाएको थियो । जसमध्ये दुई गाडी प्रयोगमा नआउँदै ग्यारेजमा थन्किएका छन् ।

बा।१झ ९१८८ नम्बरको स्कार्पियो र बा।१झ ३८६९ नम्बरको ल्यान्डक्रुजर काठमाडौंबाट ल्याएर सीधै ग्यारेजमा लगिएको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर शिक्षा विभागबाट कर्णाली प्रदेशलाई पठाइएको हो ।

गाडी बिग्रँदा लिफ्ट माग्नुपर्ने बाध्यता
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी वीरेन्द्रनगर–१३ नलखोलामा आयोजित मन्त्रालयकै कार्यक्रममा जाँदा बीच बाटोमै रोकिइन् । उकालोमा गाडी बन्द भएपछि तानेर कार्यक्रमस्थलसम्म पु(याउनुप(यो ।

अन्य मन्त्रीहरूले चढ्ने गाडी पनि दैनिक मर्मत गर्नुपर्छ । कतिपय गाडी त मर्मत गर्दासमेत चलाउन गाह्रो हुने गरेको चालकहरूको भनाइ छ । ‘मन्त्रीज्यूलाई कार्यक्रममा लैजाँदा अर्को गाडी पनि तयार गरेर राख्नू भन्नुपर्छ,’ एक चालकले भने ।

कर्णाली–रारा पर्यटन वर्षको कार्यक्रमबाट फर्किंदै गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको गाडी दैलेखको आठबीस नगरपालिका–२ टुनिबगरमा बिग्रियो । एक सातापछि बनाएर ल्याउनुप¥यो । यो गाडीको टर्बोमा समस्या देखिएको छ ।

केन्द्रले बिग्रिएका गाडी पठाएपछि प्रदेश सरकारलाई व्यवस्थापन गर्न समस्या भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए । १५ गाडी पठाएको जानकारी आए पनि कर्णालीमा १२ मात्रै पुगेको उनले बताए ।

३० गाडी आवश्यक
कर्णाली प्रदेशका उच्चपदस्थ र सचिवहरूका लागि ३० गाडी आवश्यक छ । तर, केन्द्रले तत्काल गाडी नपठाएपछि जिल्लास्थित सरकारी र क्षेत्रीय कार्यालयहरूबाट गाडीको व्यवस्थापन गरिएको छ । प्रदेश सभाका चारै समितिका सभापति, प्रतिपक्षी दलका नेता, सचेतक, संसदीय दलका नेतालाई गाडी दिन सकिएको छैन ।