हुम्लाको सिमिकोट हुँदै मानसरोवर जाने पर्यटक बढ्दै

कर्णालीप्रदेश खबर

प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार ०९:१४

सिमीकोट । हुम्लाको सिमिकोट विमानस्थल हुँदै तिब्बतको मानसरोवर कैलाश दर्शन गर्ने भारतीय तिर्थालुहरुको आगमन सुरु भएको छ । पर्यटकीय हिसावले आकर्षक गन्तव्य भए पनि मानसरोवरको खास चिनारी धार्मिक तीर्थस्थलको हो ।

हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थलका रुपमा मानिन्छ । मानसरोवर कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेको छ । तिब्बती भू(भागमा पर्ने मानसरोवर कैलाशको यात्रा ०७२ को भूकम्पअघि भारतीय तिर्थालुहरु सिन्धुपालचोकको तातापानी र रसुवाको केरुङ नाका प्रयोग गरी पुग्ने गरेपनि भूकम्पले दुवै नाका बन्द भएपछि हुम्लाको सिमिकोट विमानस्थल हुँदै मानसरोवर जान थालेका छन् । मानसरोवर कैलाश दर्शन गर्न जाने उपयुक्त समय नै जेठरअसार महिना मान्ने गरिन्छ ।

तीन दिनको पैदल पछि कैलाश पुगिन्छ !
हुम्लाको सदरमुकाम सिमिकोटदेखि तीन दिनको पैदलयात्रापछि कैलाश पर्वतको धार्मिक स्थल पुगिन्छ । तर, अहिले सिमिकोटबाट नेपाल र चीनको हिल्सा नाकासम्म हेलिकोप्टरले यात्रुहरु ओसार पोसार गर्ने गरेपछि सहज हुने गरेको छ ।

अबको तीन महिना लगातार हुम्ला सिमिकोट विमान स्थलबाट मानसरोवर कैलाश दर्शन गर्ने तिर्थालुका लागि नियमित रुपमा हेलिकप्टरको उडान गर्ने मनाङ्ग एयरका क्याप्टेन प्रकाश शेरचनले बताए । मनाङ्ग एयरको हेलिकप्टर २ वटा राखिने र तीन महिना नियमित रुपमा हुम्लाबाट सेवा दिने उनले बताए ।

गत वर्ष एक दिनमा १३५ उडान र १३३ अवतरण
गत वर्ष सबैभन्दा बढी एक दिनमा सिमकोट विमान स्थलमा १ सय ३५ उडान र १ सय ३३ अवतरण भएको सिमकोट नागरिक उडड्यन कार्यालय हुम्लाले जनाएको छ । गत वर्ष भारतीय तिर्थालुहरु मानसरोवर कैलाश दर्शन गर्ने १९ हजार ६ सय को हाराहारीमा भित्रिए पनि यो वर्ष २५ हजार तिर्थालुहरुको आगमन हुन सक्ने अनुमान रहेको सिमिकोट नागरिक उडड्यन कार्यालय हुम्लाका प्रमुख गौरी शंकर शाहले बताए ।

प्रमुख शाहले जेठ महिनामा मलेमास परेकोले भारतीय तिर्थालुहरुको चाप कम हुने र साउन महिनामा गत वर्षको भन्दा धेरै चाप बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

१२ कम्पनीका हेलिकप्टरले सेवा दिने
यो वर्ष मानसरोवर कैलाश दर्शन गर्न आउने तिर्थालुहरुका लागि १२ वटा कम्पनीका हेलिकप्टरले सेवा दिने भएको छ । वैशाख २८ गतेबाट सिमिकोट विमान स्थलबाट २ वटा कम्पनीका हेकिप्टरले भारतीय तिर्थालुहरु ओसार्न सुरू गरेको सिमिकोट नागरिक उडड्यन कार्यालय हुम्लाका प्रमुख गौरी शंकर शाहले बताए ।

मनाङ एयर’ माउन्टेन एयरको हेलिकप्टरले २/२ वटा हेलिकप्टर राख्ने जानकारी प्राप्त भएको र अरु सिम्रिक श्री एयर लगायत गरी १२ वटा कम्पनीको हेलिकप्टरले सेवा दिने भएको शाहले बताए । पछिल्ला समयम मानसरोवर कैलाश दर्शन गर्ने अन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण देखिएको छ । हुम्ला सदरमुकाम सिमिकोटका होटेलहरु अग्रिम रुपमा नै बुकिङ्ग हुन थालेका छन् ।

नयाँपत्रिका बाट साभार

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया